सन्दर्भः विश्व खेलकुद पत्रकार दिवस, नेपाली खेलकुद पत्रकारको अनुभूति
सन्दर्भः विश्व खेलकुद पत्रकार दिवस, नेपाली खेलकुद पत्रकारको अनुभूति
शुक्रबार , १८ असार , २०७८ , ११:०४, काठमाडौं
नेपालमा खेलकुद पत्रकारिताको सुरुआत कहिलेदेखि सुरु भयो स्पष्टमा रुपमा भन्न नसकिएपनि नेपालको सबैभन्दा लामो ईतिहास भएको समाचार पत्रिका गोरखापत्रको संगै नेपालमा खेलकुद पत्रकारिताको ईतिहास पनि गांसिएको मानिन्छ। नेपालमा खेलकुदको संस्थागत बिकासको सुरुवात तत्कालिन राणा शासन कालदेखि भएको थियो। भारतमा अध्ययनकालागि गएका राणा परिवारका सदस्यहरुले बिदामा नेपाल आउंदा ल्याएका खेलकुद सामाग्रीबाटै नेपालमा बिभिन्न खेल खेल्न थालिएको थियो।
राणाशासनको अन्तिम समयतिर राणाका दरवारहरुमा फुटबलका साथै बिभिन्न खेल खेलिन सुरु भएको हो। संस्थागत विकासकोक्रममा नेपाल क्रिकेट संघको स्थापना राणाशासनको अन्त हुनु अघिनै सन १९४६ मा भएको थियो भने नेपाल फुटबल संघको स्थापना राणाशासनको अन्त्य लगतै सन १९५१ मा भएको थियो। नेपालमा राणाशासनको अबधिमै रामजानकी कप नामक फुटबल प्रतियोगिता सुरु भएको थियो।
जसमा तत्कालिन राणाशासकहरुतथा काठमाडौं उपत्यकाका बिभिन्न क्लबहरुको सहभागिता हुन्थ्यो। त्यतिखेर भएका यस्ता खेलको समाचार बेलाबखत नेपालको पहिलो समाचार पत्रिका गोरखापत्रमा प्रकाशित हुने गरेका थिए। त्यसपछि अन्य त्यतिखेरका अत्यन्त सिमित पत्रिकालेपनि कहिले कांही खेलकुदका समाचार छाप्दथे। राष्ट्रिय समाचार समितिका साथै गोरखापत्र तथा राईजिङ नेपाल जस्ता दैनिक पत्रिकामा पंचायतकालमै खेलकुद सम्बन्धि बिधा लिएका पत्रकारहरु कार्यरत थिए। बिभिन्न फुटबल प्रतियोगिताहरुको रेडियो नेपालबाट प्रत्यक्ष कमेन्ट्री गरिन्थ्यो।
यस्तै सिमित बजार भएपनि खेलकुद मात्रै विषयवस्तु प्रकाशित गरिएका बिभिन्न पत्रिकापनि त्यसबखत प्रकाशित भएका थिए। तर निरन्तरता भने चुनौतीपूर्ण थियो। मुलुकमा बहुदलीय ब्यबस्थाको पुनर्स्थापना भएपछि नेपालमा खेलकुदनै बिधा लिएर ब्यापक रुपमा खेल पत्रकारहरु क्रियाशील हुन थालेका हुन।
मैले खेलकुद पत्रकारका रुपमा करिब ४ दशक बिभिन्न रिपोर्टिङ गर्दा गरेको केही अनुभव यो लेखमा समेटने कोशिश गरेको छु।
२०३८ सालदेखि खेलकुद पत्रकारितामा निरन्तर
मैले २०३८ सालमा काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय खेलकुददेखि खेलकुद सम्बन्धि रिपोर्टिङ गर्न सुरु गरेको हुं। त्यतिखेर म भारतबाट प्रकाशित हुने एउटा समाचारपत्रमा नेपालको प्रतिनिधि भएर काम गर्ने गर्दथें। ९ दिनसम्म दशरथ रंगशालामा चलेको राष्ट्रिय खेलकुदमा १६ खेलका प्रतियोगिता संचालन भएका थिए। त्यसैबेला दशरथ रंगशालामा मिडिया सेण्टर खोलिएको थियो जहां खेलका गतिबिधि जानकारी गराईने ब्यबस्था थियो। बिभिन्न खेलाडीले स्थापना गरेका किर्तिमानहरु सहजै उपलब्ध गराईएको थियो। त्यसैबेलादेखि अन्तराष्ट्रिय प्रतियोगितामा खेल्न गएका नेपाली खेलाडीको राम्रो नतिजा नआउंदा राष्ट्रिय किर्तिमान उल्लेखगरी राष्ट्रिय खेलकुद परिषदले बिज्ञप्ति पठाउनेक्रम सुरु गरेको थियो जुन आजपनि जारी रहेको छ।
२०३८ सालको राष्ट्रिय खेलकुदमा बाघचाल खेलकोपनि प्रतियोगिता देख्दा म अचम्म परेको थिएं। तर २०४० सालमा पोखरामा आयोजित दोश्रो राष्ट्रिय खेलकुदमा लोकनृत्यतथा लोकगीतलाई पनि प्रतियोगिताका रुपमा समावेस गरियो। २०४२ सालमा वीरगन्जमा आयोजित तेश्रो राष्ट्रिय खेलकुदमा दोहरीगीतलाई पनि खेलकुद प्रतियोगिताका रुपमा समावेस गरिएको थियो।
तेश्रो दक्षिण एशियाली खेलकुद कोलकता, भारत २०४४ साल
म पहिलो पटक विदेशमा खेलकुद प्रतियोगितामा रिपोर्टिङ गर्न नेपाल टेलिभिजनकातर्फबाट कोलकोता गएको थिएं। त्यतिखेर भिचएस क्यामरा लिएर सुटिङकालागि जानु परेको थियो। आज हामीले प्रबिधिमा निक्कै फडको मारिसक्यौं। तर त्यतिखेर एमेच्योर क्यामरा बोकेर गएका हामी नेपालमा दिनंहु खेलका क्यासेट पठाउन एयरपोर्ट जानु पर्थ्यो। कोलकता नेपाली म्याराथुन धावक बैकुण्ठ मानन्धरको दक्षिण एशियाली किर्तिमानको साक्षी बन्ने अवसर प्राप्त भयो। ४२ दशमलब एकनउपांच किलोमिटर लामो म्याराथुन दौड उनले २ घण्टा १५ मिनेटमै सम्पन्न गरेका थिए। हालसम्मपनि उनको दक्षिण एशियाली किर्तिमान दक्षिण एशियाका कुनै धावकले तोडन सकेका छैन। त्यतिखेर नेपाल बक्सिङमा शशक्त थियो।
हाल दिवंगत भैसक्नु भएका मुक्केवाजहरु दलबहादुर रानामगर र पुष्करध्वज शाहीको मुक्काका अगाडि दक्षिण एशियाका अन्य प्रतिस्पर्धी टिक्न नसकेको प्रत्यक्ष देखियो। नेपाली फुटवल खेलाडी गणेश थापा एक्लैले ५ गोल गरेर दर्शकहरुको स्याबासी बटुल्न सफल भएका थिए। सो खेलमा नेपालले भुटानलाई २ गोलका बिरुध्द ६ गोलले पराजित गरेको थियो। कोलकताको साल्टलेक रंगशालामा नेपाल र भारतबिचको फुटवल फाईनलमा करिब ८० हजार दर्शकहरु उपस्थित थिए। सो खेल समाप्त हुनु १ मिनेट बांकीमा भारतका मोहम्मद फरिदको निर्णायक गोलबाट भारत बिजयी भएपनि नेपाली खेलाडीहरुले उत्कृष्ठ खेल प्रदर्शन गरी दर्शकहरुको प्रशंशा बटुल्न सफल भएका थिए।
रंगशाला काण्ड २०४४
फागुन २९ गते शनिवार त्रिभुवन च्यालेन्ज कप फुटवलको फाईनल जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोधा क्लबबिच भैरहेको अचानक बर्षा भई भागदौडको क्रममा किच्चिंदा ७० जनाभन्दा बढीको मृत्यू भएको दिन नेपालको खेलकुदको ईतिहासमै कालो दिन। रंगशालामा प्रत्यक्षदर्शी भएरपनि तत्काल समाचार दिन भने सकिएन। प्रबिधिको कारण तत्काल समाचार प्रसारण गर्न असमर्थ भएको यथार्थले मलाई आजपनि पोल्दछ। त्यतिखेर नेपाल टेलिभिजनको समाचार राती मात्र प्रसारण हुने गर्दथ्यो। फेरि अहिलेको जस्तो फ्लास तथा ब्रेकिङ न्युज हाल्न सकिने सुबिधा त्यतिखेर थिएन।
१४ अन्चलमै सिन्दुर जात्रा
सन १९८६ मा दक्षिण कोरियाको राजधानी सियोलमा सम्पन्न दशौं एशियाली खेलकुदमा नेपाललाई अभुतपुर्व सफलता प्राप्त भएको थियो। सन १९५१ मा प्रथम एशियाली खेलकुद देखि भाग लिन सुरु गरेको नेपालले पहिलो पटक बक्सिङमा ४ र ताईक्वाण्डोमा ४ गरी कूल ८ वटा कांस्य पदक प्राप्त गरेको थियो। पदक बिजेता खेलाडीहरु नेपाल फर्केपछि १४ अन्चलमै परिक्रमा गराईएको थियो। तत्कालिन अन्चलाधिश कार्यालयको पहलमा खेलाडीहरुलाई नगद पुरस्कारका साथै मोटरसाईकल सुटपिस भांडाकुंडाका साथै अन्य पुरस्कार प्रदान गरिएको थियो। यसपछि पदकधारी खेलाडीहरुको यसरी मेची महाकाली यात्रा आजसम्म आयोजना गरिएको छैन।
नेपालको पहिलो ओलम्पिक पदक
सन १९८८ मा दक्षिण कोरियाको सियोलमा सम्पन्न ओलम्पिकमा नेपालले पहिलो पटक पदक प्राप्त गर्यो। सन १९६४ मा जापानको टोकियोमा आयोजित ओलम्पिक देखि नेपालले ओलम्पिकमा भाग लिंदै आएको भएपनि कुनै पदक पाएको थिएन। ताईक्वाण्डोतर्फ नेपाली खेलाडी बिधान लामाले कांस्य पदक प्राप्त गर्न सफल भएका थिए। तर सो खेल ओलम्पिकमा प्रदर्शन खेलतर्फ राखिएकोले आधिकारिक पदक तालिकामा भने समावेस नगरिएकोले नेपाललाई घाटा भएको थियो। नेपालमा सिन्दुरेजात्राको लर्को लाग्यो। ओलम्पिक पदक बिजेताको अन्तरवार्ता लिन पाउनु एउटा पत्रकारकालागि महत्वपुर्ण उपलब्धि महसुस भयो।
एघारौं एशियाली खेलकुद, बेईजिङ,चीन १९९०
नेपालमा बहुदलीय ब्यबस्था पुनर्स्थापनापछिको यो पहिलो खेलकुद सहभागिता थियो। त्यतिखेर राष्ट्रिय खेलकुद परिषदले खेल टोलीकालागि चार्टर फ्लाईटको बन्दोबस्त गरेको थियो। नेपालको धेरै खेलमा सहभागितातथा खेल टोली जतिसुकै ठूलो भएतापनि उपलब्धिको नाममा बक्सिङतर्फ १ कांस्य पदकमा सिमित भएको थियो। त्यतिखेर पहिलो पटक नेपाललाई एशियाली खेल पत्रकार समुहमा समावेस गरिएको थियो। त्यसबखत पत्रकारका रुपमा गएका एकजना पछि मन्त्री समेत भएका थिए।
१२ औं एशियाली खेलकुद, हिरोसिमा,जापान सन १९९३
एशियाली खेलकुदमा नेपाल टोलीको नेतृत्व गर्दै जापान पुगेका सेफ दि मिसन नरेश अधिकारीको अचानक तेश्रोदिनमै निधन भयो। खेलकुदमा भाग लिन बिदेश गएका नेपाली खेलाडीहरु मध्ये पहिलो पटक जापानमा केही खेलाडी भागेका थिए। त्यसपछि त खेलकुदको रिपोर्टिङका लागि गएका नेपाली पत्रकारहरु पत्रकारकै घेराउमा पर्न पुगे। जापानी मिडिया नेपालसम्मै पछ्याउंदै आएका थिए। जापानबाट डलर तिरेर समाचार पठाउनु पर्दथ्यो। तर जापानीहरुले टेलिभिजनकर्मी वा स्टिल फोटोग्राफरलाई सित्तैमा क्यामरा भाडामा दिने ब्यबस्था मिलाएका थिए।
छैठौं दक्षिण एशियाली खेलकुद , ढाका, बंगलादेश १९९३
सन १९८७ मा भारतको कोलकत्तामा फुटबल फाईनलमा पराजित भएको नेपालले भारतसंग बदला लिएको क्षणकोपनि साक्षी बन्ने अवसरपनि पाईयो। बंगलादेशमा खेल पत्रकारहरुको संख्या अन्य देशको तुलनामा धेरै रहेको अनुभव भयो। तर बंगलादेश पराजित भएको समाचार नदिईएको प्रत्यक्ष देखियो। ढाकाका बिभिन्न ठांउमा पुग्दा नेपालका फुटबल खेलाडी गणेश थापालाई चिनेका छौ भनि बंगलीहरुले सोध्दा गौरवको अनुभुति भएको थियो।
एशियाली खेलकुद, बैंकक, थाईल्याण्ड १९९८
नेपालले पहिलो एशियाली रजत पदक जितेको क्षण। सबिता राजभण्डारीले ताईक्वाण्डो खेलाडीले नेपालकालागि उक्त पदक दिलाएकी थिईन। खेल जित्नासाथ उनको अन्तर्वार्ता लिने अवसर पाईयो।
आठौं दक्षिण एशियाली खेलकुद , काठमाडौं,सन १९९९
नेपालले ३१ वटा स्वर्ण पदक पाएको अवसर। नेपाल टेलिभिजनले जताततै लाईभ गरेको थियो। विदेशमापनि प्रसारण भएको सो खेलकुदमा भारतको बढी चासो थियो। खेल बुझ्नेलाई कमेण्टेटरमा राखिएको थियो। जसमध्ये एकजना कमेण्टेटर त पछि मन्त्री समेत भएका थिए।
१३ औं दक्षिण एशियाली खेलकुद, २०७६
नेपालमा आयोजना भएको यो खेलकुद मेरो सकृय खेल पत्रकारिताको अन्तिम बृहत प्रतियोगिता थियो। म कार्यरत रहेको नेपाल टेलिभिजनबाट म उमेरका हदका कारण अवकास पाउंदै थिएं। स्टुडियोबाट कमेन्ट्रीका साथै बिजेता खेलाडीको अन्तर्वार्ता र दैनिक समाचार बनाउन म ब्यस्त भएं। नेपाली खेलाडीहरुले दक्षिण एशियाली प्रतियोगितामा पहिलो पटक ५१ वटा स्वर्ण पदक प्राप्त गरेको अवसरबाट सकृय खेलकुद पत्रकारका रुपमा बिश्राम लिन पाउंदा मैले हर्षको अनुभूति गरेको छु।
अन्त्यमा
हाल अधिकाशं मिडिया राजनैतिक गतिबिधि र उच्च पदस्थहरु दिनचर्यामा सिमित रहेकाले खेलकुद प्राथमिकतामा नपर्ने गरेको यथार्थ हो। अहिले ईक्षा बमोजिम खेलको कभरेज भैरहेको तथा खेलकुदको प्राथमिकता पुछारमा पर्न गरेको छ। मिडियाले खेलजगतलाई उठाउन धेरै गर्न सक्ने तथा कमी कमजोरी सार्वजनिक गरी तिनलाई घटाउन सहयोग गर्न सक्दछ। मिडियाले खेलकुदलाई प्राथमिकता दिनु पर्ने तथा देशभित्र र बाहिरका खेल गतिबिधि र प्रतियोगिता छुटाउन हुदैंन। सिमित पत्रकारलाई लाई सबै खेलको जिम्मा दिने परम्परा कम गर्दै लानु पर्दछ।
अन्तराष्ट्रिय प्रतियोगितामा भागलिन जानुअघि प्रोत्साहन गर्ने खालका समाचार दिनु पर्दछ। तालिमको स्थिति, सुबिधा आदिको निगरानी गरी समाचार बनाउनु पर्ने, बिजयी हुंदामात्र समाचार बनाई हार्दा बेवास्ता गर्न नहुनेतथा पराजयको बेला सान्त्वना दिने र कमजोरी औंल्याउने गर्नु पर्छ। नेपाली खेलकुदको अन्तराष्ट्रिय सफलता घटेपनि नेपाली मिडियामा खेलकुद गतिशील बनिरहेको महसुस गर्न सकिन्छ।
Last Update: 2021-07-13
- राखेप बोर्डको पहिलो बैठक अर्को साता
- स्पोर्टस नेपाल ओआरजीको उद्घाटन
- कर्णालीमा खेलकुद बजेट : हात्तीको मुखमा जीरा
- एक्कासी खबर आयो पत्याउनै गाह्रो भयो : सरस्वती चौधरी
- आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन अभियान
- टोकियो ओलम्पिकमा १० हजार दर्शकले मात्र प्रवेश पाउने
- टोकियो ओलम्पिकमा पार्कीका सट्टा चौधरीले प्रतिस्पर्धा गर्ने