12April2026
Sunday 02:56 pm

टोकियो ओलम्पिकमा पार्कीका सट्टा चौधरीले प्रतिस्पर्धा गर्ने

आगामी महिना जापानको राजधानी टोकियोमा शुरु हुने ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छन् । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने तय भए पनि टोकियो ओलम्पिक कमिटीले असहमति जनाउँदा उनको सट्टा चौधरीले सहभागिता जनाउने भएकी हुन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्कीका सट्टा चौधरीले टोकियो ओलम्पिकमा सहभागिता जनाउने सार्वजनिक गरेका हुन् । पार्कीको सहभागिता सम्भव नभएकाले चौधरीले प्रतिस्पर्धा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

युनिभर्सिटी प्लेसमार्फत ओलम्पिकमा सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तरराष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने भएको हुँदा म्याराथनका हकमा कोटाभन्दा धेरै आवेदन परेकोले नेपाललाई म्याराथनमा नभई एथ्लेटिक्स विधाको १०० मिटर दौडमा कोटा छुट्याइएको जानकारी प्राप्त भयो,’ विज्ञप्तिमा भनिएको छ ।’

पार्कीको सहभागिताबारे आयोजक असहमत भएपछि चौधरीको नाम सर्वसम्मत छनोट गरिएको सदस्यसचिव सिलवालले जानकारी दिएका छन् । आयोजकले म्याराथनको सट्टा एक सय मिटरतर्फ महिलालाई मात्र स्थान दिन सक्ने भनी पत्र पठाएपछि चौधरीको नाम छनोट गरिएको उनको भनाइ छ ।

चौधरीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध चौधरीसहित पौडीकी गौरिका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार तथा जुडोकी सोनिया भट्टले पनि टोकियो ओलम्पिकमा सहभागिता जनाउने छन् ।

टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने तय भएको छ ।

घटना र विचार, न्युज डेस्क !

१८ असार २०७८, शुक्रबार ०२:११

Last Update: 2021-07-10