17May2025
Saturday 07:54 pm

टोकियो ओलम्पिकमा १० हजार दर्शकले मात्र प्रवेश पाउने

टोकियो ओलम्पिकमा १० हजार दर्शकलाई मात्र रङ्गशालामा प्रवेशको अनुमति दिइने भएको छ । टोकियो ओलम्पिक शुभारम्भ हुन एक महिना बाँकी रहेको अवस्थामा आयोजक कमिटीले यस्तो निर्णय गरेको हो ।

आउँदो २३ जुलाई देखि सञ्चालन हुने टोकियो ओलम्पिकमा दर्शकहरूको उपस्थितिको बारेमा आयोजक कमिटीले यस्तो निर्णय गरेको हो ।

जसअनुसार टोकियो ओलम्पिक खेलका दौरान सबै भेन्यूमा दर्शक उपस्थितिको सीमा तय गरिएको छ । रङ्गशालालगायत खेलकुदका अन्य भेन्यूमा ५० प्रतिशत दर्शकहरूलाई प्रत्यक्ष खेल हेर्न पाउने स्वीकृति दिने निर्णय गरेको छ ।

आयोजक कमिटीले कुनै पनि भेन्यूमा १० हजार दर्शकलाई आउन दिने अनुमति दिएको छ । त्यस्तै, क्षमता कम भएका खेल स्थलमा ५० प्रतिशत दर्शकलाई अनुमति दिइएको छ । रङ्गशालामा भने बढीमा १० हजार दर्शक आउन सक्ने व्यवस्था मिलाएको छ ।

कोरोना महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष पछि सारिएको हो । कोरोनाको महामारी अझै यथावत रहे पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र टोकियो ओलम्पिक आयोजक कमिटीले २३ जुलाईदेखि टोकियो ओलम्पिकको सञ्चालन हुने निर्णय गरेको हो ।

घटना र विचार, न्युज डेस्क !

 प्रकाशित मिति ९ असार २०७८, बुधबार ०६:०२


 

Last Update: 2021-07-10